- 17 Jan 2025
Press Release 2081-10-04 : SWOT Analysis
नेपाल वायुसेवा निगमका कार्यकारी तहका कर्मचारीहरुको लागि अनिवार्य आवश्यक पर्ने Safety Management Syatem-SMS सम्बन्धी तालिम मिति २०८१ पौष २७ मा सम्पन्न भएको छ । उक्त तालिममा निगमका कार्यकारी अध्यक्ष सहित विभागिय प्रमुखहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा CAAN Certified Instructor श्री लक्ष्मण देवकोटा रहनु भएको थियो । उक्त तालिम कार्य प्रकृतिको आधारमा निगमका अन्य तहका कर्मचारीहरुलाई समेत दिइदै आइरहेको छ ।
साथै, सोही दिन निगमले सञ्चालन गरेको नेपाल वायुसेवा निगमको SWOT Analysis तथा समयसीमा सहितको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना प्रस्तुतीकरण कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा मन्त्रालयका सह–सचिव तथा निगमका सञ्चालक समिति सदस्य श्री रामकृष्ण लामिछानेज्यू तथा मन्त्रालयका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो भने निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा निगमको विभागीय प्रमुखहरुले आ–आफ्नो विभागहरुको SWOT Analysis तथा समयसीमा सहितको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा बोल्दै माननीय मन्त्रीज्यूले निगमका विभागीय प्रमुखहरुले प्रस्तुत गर्नु भएका निगमका सवल र दुर्वल पक्षहरु तथा चुनौती र समस्याहरुलाई आफूले गम्भिरतापूर्वक लिएको र सोको सकारात्मक समाधानको लागि आगामी दिनहरुमा चालिने रणनीतिक तथा कार्यगत योजनाहरुमा मन्त्रालयको सदैव साथ र सहयोग रहनेमा जोड दिनु भयो । उक्त अवसरमा बोल्दै माननीय मन्त्रीज्यूले उक्त SWOT Analysis तथा समय सीमा सहितको योजनाहरु अत्यन्तै राम्रो रुपमा तयार गरि प्रस्तुत गरेकोमा निगम व्यवस्थापनलाई धन्यवाद दिदै व्यक्त प्रतिवद्धताको समय भित्रै कार्यान्वयन पनि हुनुपर्नेमा जोड दिनु भयो । नेपाल वायुसेवा निगम राष्ट्रिय ध्वजावाहक तथा व्यवसायिक संस्था भएकोले यसले गर्ने व्यवसायिक योजना तथा निर्णयहरु राजनीतिक प्रभावबाट टाढा राखी अन्य देशका वायुसेवा कम्पनीहरुले जस्तै व्यवसायिक ढंगबाट अघि बढ्नुपर्ने भनाई राख्दै यसमा सबै कर्मचारीहरु एकतावद्ध भई आफ्नो कार्य क्षमता र निगमको व्यवसायिक गुणस्तर वृद्धि हुनेगरी काम गर्न निर्देशन दिनु भयो । उक्त अवसरमा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव तथा निगमका सञ्चालक समिति सदस्य श्री रामकृष्ण लामिछानेज्यूले निगमले प्रस्तुत गरेका SWOT Analysis एवं समयसिमा सहितको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाहरुबाट आफू थप आशावादी भएको उल्लेख गर्दै सवैले एक साथ इमान्दारीताका साथ काम गरे मात्र निगमले प्रगति गर्न सक्ने विश्वास व्यक्त गर्दै मन्त्रालयबाट गर्नुपर्ने कार्यहरुमा सधैं सकारात्मक सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।